१०७ क्षेत्रमा एमाले-माओवादी भागबण्डा टुंगियो, हेर्नुहोस् कसलाई कति?


कात्तिक ११, २०७४ काठमाडौं : एमाले र माओवादी केन्द्रले मंसिर २१ मा हुने दोस्रो चरणको चुनावका लागि सिट बाँडफाँड अन्तिम चरणमा पुर्‍याएका छन्। दोस्रो चरणको १२८ निर्वाचन क्षेत्रको बाँडफाँडबारे सम्भवत: शनिबार संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन्। दोस्रो चरणमा हुने प्रतिनिधिसभाका १२८ निर्वाचन क्षेत्रमा दुई दलका उम्मेदवारहरू लड्ने १०७ क्षेत्रको टुंगो लागिसकेको सिट बाँडफाँड समितिका एक सदस्यले बताए। त्यसमध्ये एमालेलाई ७२ र माओवादी केन्द्रलाई ३५ सिट छुट्याइएको छ। त्यही अनुपातमा सम्बन्धित प्रदेशमा पनि सिट बाँडफाँड भएको छ।  एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा दुवै दलका नेता सम्मिलित कार्यदलले दोस्रो चरणको चुनावका लागि उक्त बाँडफाँडसहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको हो। कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न एमाले स्थायी समितिको बैठक शुक्रबार रातिसम्म बसेको थियो। पहिलो चरणको मंसिर १० मा हुने चुनावका लागि प्रतिनिधिसभामा एमालेले २१ र माओवादीले १६ सिटमा सहमति गरेका थिए। सोहीअनुसार उम्मेदवार मनोनयनसमेत भइसकेको छ। दुई ठूला वाम दलबीच ६०/४० प्रतिशतका आधारमा सिट विभाजन गर्ने नीतिअनुसार कार्यदलले प्रतिवेदन तयार पारेको हो। ‘हामीले सिट विभाजन करिब टुंंग्याएका छौं, चाँडै त्यसलाई सार्वजनिक गर्छौं,’ दुवै दलका उम्मेदवारी चयनमा सक्रिय एमाले सचिव गोकर्ण बिष्टले भने। उनका अनुसार दुई दलबीच उम्मेदवार चयनमा केही विवाद देखिए पनि त्यसलाई शीर्ष नेतृत्व सम्मिलित एकता संयोजन समितिबाट टुंगो लगाइने छ। माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले दोस्रो चरणको चुनावका लागि दुई दलबीच ६०/४० कै प्रतिशतका आधारमा सिट चयन गरिएको बताए। ‘प्रतिनिधिसभामा कम्तीमा ६० माओवादीको हुने गरी सिट बाँडफाँड गरिएको छ,’ पुनले भने। उनका अनुसार टुंगो लाग्न बाँकी क्षेत्रहरूमा दुवै दलका शीर्ष नेता सम्मिलित समितिको बैठक शनिबार बिहान बसी टुंगो लाग्ने छ। सिट बाँडफाँड कार्यदलले झापा, मोरङ, सुनसरी, चितवन, कास्की, बारा, उदयपुरलगायत जिल्लाका निर्वाचन क्षेत्र टुंग्याउने जिम्मा शीर्ष नेतृत्वलाई सुम्पेको छ। कार्यदलले सिट बाँडफाँडको मुख्य आधार पछिल्लो स्थानीय तहको चुनावको मतलाई लिएको छ। त्यसबाहेक कतिपय क्षेत्रमा उम्मेदवारको लोकप्रियता र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई पनि आधार बनाएको छ। स्थानीय चुनावमा राम्रो परिणाम ल्याएका धनकुटा, इलाम, तेह्रथुमलगायत जिल्लाबाट प्रतिनिधिसभामा एमालेका मात्र उम्मेदवार हुने भएका छन्। चितवनमा एमाले र माओवादीले १/१ सिटमा टुंगो लगाएका छन्। बाँकी १ सिटमा छलफल जारी छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चितवन–३ बाट उठ्ने छन्। काठमाडौंका १० सिटमा एमालेले ७ र माओवादीले ३ सिट लिनेछन्। ललितपुरमा माओवादीले क्षेत्र नं. ३ मा सम्भवत: प्रवक्ता पम्फा भुसाललाई अघि सार्ने तयारी गरेको छ। भक्तपुरमा प्रतिनिधिसभामा माओवादीको दाबी छैन। भक्तपुरमा क्षेत्र नं. २ मा एमालेका युवानेता महेश बस्नेत उठ्ने टुंगो लागेको छ।

Comments