कसले मार्ला बाजी ?


कार्तिक ११, २०७४-कांग्रेसका रुद्रबहादुर खड्का र एमालेका पार्वत गुरुङ दोलखाको एउटै गाउँपालिकाका बासिन्दा हुन् । उनीहरू आसन्न प्रतिनिधिसभा चुनावका लागि दुई फरक पार्टीबाट आमनेसामने भएका छन् । कांग्रेस अगुवा जिपछिरिङ लामाले इच्छा नदेखाएपछि खडकाले मौका पाउनु र निकै घम्साघम्सीपछि एमालेका गुरुङले टिकट पाउनुलाई ‘भाग्यको संयोग’ ठान्नेहरू पनि प्रशस्तै छन् । यी दुईबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने मतदाताबीच चर्चा छ । 
जिल्लामा यसअघिका अधिकांश चुनावी नतिजा एमालेको पक्षमा गएको छ । त्यही परिणामका आधारमा गुरुङ आफूलाई बलिया उम्मेदवार ठान्छन् । खड्का भने परिस्थितिले कोल्टे फेरेको र मतदाताले परिवर्तन खोजेकाले आफ्नो अवस्था मजबुत भएको बताउँछन् । 


गौरीशंकर गाउँपालिकाअन्तर्गत झ्याँकुमा जन्मिएका खड्का र त्यसैको साँधसीमा सुरीका गुरुङ सफल व्यापारी पनि हुन् । प्रजातन्त्र प्राप्तिपछि स्थानीय निर्वाचन हुँदा देशकै कान्छा सभापति हुने अवसर सदुपयोग गरेर ‘हैसियत’ बनाएका खड्काको दशक लामो अमेरिका बसाइको मुद्दा भने बेलाबेला कमजोरीका रूपमा उठ्ने गर्छ । उनले सुरुवातमा सामान्यस्तरको होटल व्यवसायबाट ठूलो उद्यममा हात हालेका हुन् । 
एकपटक कारोबारमा सँगै जोडिएका गुरुङसँग उनको राम्रै सम्बन्ध छ । व्यापार व्यवसायको सम्बन्ध भने उहिल्यै टुटेको खड्काको दाबी छ । ‘खड्काको कांग्रेसभित्र गहिरो आलोचना हुने गरेको विषय नै एमाले नेतासँग व्यापारमा हातेमालो गरेकामा हो,’ जिल्ला तहका एक कांग्रेस नेताले भने । पार्टी जिल्ला सभापतिमा उठ्दा प्रतिस्पर्धीले विपक्षी दलसँग उनको नरमपना, व्यक्तिगत मामिलाको सहकार्य र विदेश पलायनको मुद्दा चर्कोसँग उठाएका थिए । ती सबै कारण पहिलो प्रयासमा पार्टी जिल्ला सभापतिमा हार व्यहोरेका खड्का दोस्रोपटक जितको खुड्किलो पार गर्दै सहकार्यको राजनीतिलाई अँगालेर अघि बढेका छन् । जिल्लाको विकासमा एकजुट हुनुपर्ने सन्देश उनले पटकपटक दोहोर्‍याउने विषय हो ।
वामपन्थी गठबन्धन बन्ने भएकाले जिपछिरिङले प्रतिनिधिसभाको टिकट लिइदिए कांग्रेस चुनावी मैदानमा दह्रोसँग उभिन सक्ने कार्यकर्ताको विश्लेषण थियो । व्यापक दबाबका बावजुद २०७० को प्रतिनिधिसभामा हार व्यहोरेका जिपछिरिङले चुनावमा उठ्न अस्वीकार गरेपछि खड्काले अवसर पाएका हुन् ।
जडीबुटी व्यवसायबाट लघुउद्यम हुँदै परिवारका सदस्यको सहयोगमा अन्तर्राष्ट्रियस्तरसम्म व्यापार बढाएका एमाले उम्मेदवार गुरुङ उद्यम र राजनीति दुवैमा सफल मानिन्छन् । उनी राजनीति र उद्यमशीलतालाई साथै लैजान २०५१ सालदेखि क्रियाशील भएको बताउँछन् । २०४८ देखि पार्टी जिल्ला कमिटीमा प्रवेश गरेका गुरुङ ०६६ मा अध्यक्षको जिम्मेवारीमा पुगे । निकै कष्टपूर्वक जित निकालेका उनले पार्टीलाई नयाँ ढाँचामा उठाएपछि ०७० को निर्वाचनमा क्षेत्र १ बाट प्रतिनिधिसभाको निर्वाचनमा टिकट पाउन त्यति कष्ट गर्नुपरेन । 
सजिलै टिकट पाएको तर कठिन मिहिनेतपछि निर्वाचन जितेकाले एमालेको नवौं महाधिवेशनबाट उनलाई केन्द्रीय सदस्य हुनसमेत सघाउ पुग्यो । जिल्लाबाट सिफारिस भएका पार्टी पोलिटब्युरो सदस्य र पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलसँग रस्साकस्सी गर्दै प्रतिनिधिसभा सदस्यको टिकट हात पार्नु उनका लागि चानचुने चुनौती थिएन । केहीले जनजाति भएर पनि उनीहरूलाई माथि उठ्न नदिएको आरोप गुरुङमाथि लगाउँदै आएका छन् । तर, जिल्लाको पार्टी इन्चार्ज भएकाले पछिल्लो समय गुटगत स्वार्थबाट माथि उठेर केही अवसर बाँडफाँट गरेको जससमेत उनलाई जाने गरेको छ । 
मतदाता रिझाउने परीक्षा
रामेछापमा प्रतिनिधिसभामा वाम गठबन्धनबाट बहालवाला राज्यमन्त्री श्यामकुमार श्रेष्ठ चुनावी मैदानमा छन् । जिल्लाको क्षेत्र नम्बर २ बाट २०७० को संविधानसभा निर्वाचनमा विजयी उनलाई अहिले कांग्रेसका युवा नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले टक्कर दिएका छन् । तामाङ २०७० को निर्वाचनमा समानुपातिक सूचीमा थिए । 
स्थानीय तहको परिणाम हेर्दा जिल्लामा एमाले र माओवादीको मत कांग्रेसको भन्दा दोब्बर छ । यसलाई आधार मान्दा तामाङको जित सहज छैन । यद्यपि जिल्लामा सामाजिक कार्यकर्ताको छवि बनाएका उनी त्यही परिचयले आफूलाई जिताउने दाबी गर्छन् । उनी निर्माण व्यवसायीसमेत हुन् ।
वाम गठबन्धनका उम्मेदवार श्रेष्ठलाई विगत निर्वाचनमा जितेको अनुभव त छ नै, राज्यमन्त्रीको पद पनि सहयोगी बन्ने धेरैको अनुमान छ । एमाले–माओवादी गठबन्धन बलियो रहन सके उनी जितको नजिक रहेको ठान्नेहरू थुप्रै छन् । गठबन्धनको नाममा जबरजस्ती जोडिएको अनुभव कार्यकर्ताले गरे त्यसको फाइदा तामाङलाई हुने एकथरी मतदाताको भनाइ छ । विगतमा जिल्लाको गाल्बाभन्दा पश्चिम काभ्रेसँग जोडिएको क्षेत्रकै मतले माओवादीले निर्वाचन आफ्नो पक्षमा बनाएको थियो । तर, उक्त क्षेत्रबाट तत्कालीन जनमोर्चाका उम्मेदवार कमलप्रसाद चौलागाईंबाहेक अरू नेताले उम्मेदवार बन्न पाएका छैनन् ।
२०५६ मा सुरक्षित क्षेत्र भनेर एमालेसहितको समर्थनमा रामेछाप २ बाट उम्मेदवार बनेका जनमोर्चाका नेता अमिक शेरचनले पराजय भोगेका थिए । जिल्लाकै व्यक्ति उम्मेदवार भए पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका दृष्टिकोण हेर्दा यसपटक वाम उम्मेदवारको पक्षमा सोचेजति मत नआउने अनुमान गर्नेहरू पनि कम छैनन् । क्षेत्र नम्बर १ मा २०४६ को परिवर्तनपछिका ५ वटा निर्वाचनमा २ पटक कांग्रेस, २ पटक एमाले र १ पटक माओवादी विजयी भएका थिए । क्षेत्र नम्बर २ मा ३ वटा निर्वाचनमा वामपन्थी र २ वटामा कांग्रेसले विजय प्राप्त गरेका थिए । 
हेभिवेट जिताउन संयुक्त अभियान
पहिलो संविधानसभा निर्वाचनमा ललितपुरबाट उठेका पूर्वअर्थमन्त्री वर्षमान पुन यसपालि गृहजिल्ला रोल्पाबाट भिड्दै छन् । वाम गठबन्धनबाट प्रतिनिधिसभाका साझा उम्मेदवार उनी एमाले नेतासँगै निर्वाचन अभियानमा जुटेका छन् । उनी बृहत् शान्ति सम्झौता भएको ११ वर्षपछि गृहजिल्लाबाट उम्मेदवार बनेका हुन् । 
‘जन्मथलोबाट उम्मेदवार बन्ने चाहना पूरा भएको छ । जिल्लाको माया लागेर यसपटक वाम गठबन्धनको साझा उम्मेदवार भएको हुँ,’ पुनले भने, ‘गठबन्धनबाट दुईतिहाइ बहुमतसाथ विजयी बनेपछि समाजवादको ढोका खोल्न आधार तयार हुनेछ ।’ पहिलो संविधानसभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई रोल्पाबाटै जिताउन महत्त्वपूर्ण भूमिका खेले उनले । दोस्रो संविधानसभामा रोल्पाबाट पत्नी पूर्वसभामुख ओनसरी घर्तीमगर र नेता कृष्णबहादुर महरालाई जिताउन लागिपरेका उनी आफैंले मोरङबाट भने हार बेहोर्नुपर्‍यो । त्यसबेला उनलाई ‘टुरिस्ट’ उम्मेदवारको आरोप लागेको थियो ।
सशस्त्र द्वन्द्वको सुरुआती समयदेखि सैन्य क्षेत्रमा समेत भूमिका निर्वाह गरेका पुन तत्कालीन माओवादी लडाकुका तेस्रो तहका सैन्य कमान्डरसमेत हुन् । निर्वाचन अभियानमा एमालेका पूर्वसचेतक एवं पोलिटब्युरो सदस्य गोकुल घर्तीमगरको साथ पाएका उनले सत्ताधारी दल कांग्रेसका जिल्ला सभापति एवं सिँचाइ राज्यमन्त्री अमरसिंह पुनसँग प्रतिस्पर्धा गर्दैछन् । विगत निर्वाचनमा माओवादी उम्मेदवारले जित हासिल गर्दा जिल्लामा कांग्रेस दोस्रो र एमाले तेस्रो दलका रूपमा थिए । यसपालि एमाले र माओवादीबीचको उम्मेदवारी बाँडफाँट सहमतिअनुसार प्रतिनिधिसभाको एउटा र प्रदेशसभाका ‘क’ र ‘ख’ क्षेत्र माओवादीले पाएको छ । 
वाम गठबन्धनका प्रभावशाली नेताको जित सुनिश्चित गर्न एमाले पोलिटब्युरो सदस्य गोकुल घर्तीमगर प्रसार संयोजक बनेका छन् । ‘दुवै पार्टीको निर्णयअनुसार चुनावी प्रचारका लागि संयुक्त अभियान कमिटी निर्माण गरेका छौं,’ उनले भने, ‘गठबन्धनको सहमतिअनुसार रोल्पामा माओवादी केन्द्रका उम्मेदवारलाई जिताउन हामी जुटे जसरी अन्यत्र एमालेका उम्मेदवारलाई जिताउन माओवादी केन्द्र पनि कस्सिएर लागेको छ ।’ 
वाम गठबन्धनको चुनावी सभा
मुगुमा वाम गठबन्धनमा आबद्ध दलले घरदैलो अभियानअघि सदरमुकाममा शुक्रबार संयुक्त चुनावी सभा गरेका छन् । सभामा विभिन्न स्थानबाट कार्यकर्ताले बाजागाजासहित र्‍याली निकालेका थिए ।
माओवादीले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएपछि एमाले र माओवादी केन्द्रले संयुक्तसभाको आयोजना गरेका हुन् । दुवै पार्टीले चुनावी एकताको सन्देश दिन संयुक्त सभा गरिएको एमाले अध्यक्ष धर्मबहादुर शाहीले बताए । माओवादी पोलिटब्युरो सदस्य मंगलबहादुर शाहीले केन्द्रीय निर्देशनअनुसार स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको र दुवै पार्टीले संयुक्तरूपमा ग्रामीण क्षेत्रमा चुनावी अभियान थाल्ने जनाए । प्रतिनिधि र प्रदेशसभा चुनावका लागि एमालेले उम्मेदवारी दिएको छ । गठबन्धनबाट प्रतिनिधिसभामा एमालेका गोपाल बम तथा प्रदेशसभामा दानसिंह परियार र चन्द्रबहादुर शाही उम्मेदवार छन् । 
तात्यो माहोल
जाजरकोटमा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनले पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र कांग्रेसले निवर्तमान सांसद राजीवविक्रम शाहलाई मैदानमा उतारेपछि चुनावी माहोल तातेको छ । गत संविधानसभा चुनावमा प्रत्यक्ष निर्वाचित यी दुई सभासद आमनेसामने भएपछि अहिल्यैदेखि विभिन्न अडकलबाजी लगाउन थालिएको छ ।
वाम गठबन्धनका कारण बस्नेत तुलनात्मक रूपले बलिया देखिए पनि शाह पनि जिल्लामा निकै लोकप्रिय छन् । बस्नेत माओवादीभित्र दोस्रो पुस्ताका प्रभावशाली नेता मानिन्छन् । पार्टीमा उनी अध्यक्ष पुष्पकमल दाहाल निकट हुन् । कांग्रेसका शाह राजनीतिसँगै समाजसेवीका रूपमा पनि चर्चित भएकाले यी दुई नेताबीचको प्रतिस्पर्धालाई उत्सुकताका साथ हेरिएको छ ।
२०७० को संविधानसभा र स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त गरेको मतका आधारमा वाम गठबन्धनका उम्मेदवार बस्नेतको ‘पल्ला भारी’ छ । लोकप्रियताका हिसाबले शाह पनि कमजोर नभएको भेरी ज्ञानोदय क्याम्पसका राजनीतिशास्त्रका उपप्राध्यापक छविराज शर्माले बताए । ‘दुवै उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिन्छ,’ उनले भने, ‘मतदाताका बीच दुवै नेता उत्तिकै रुचाइएकाले अहिल्यै अनुमान गर्न कठिन छ ।
विद्यार्थीकालदेखि राजनीतिमा होमिएका बस्नेतले सशस्त्र द्वन्द्वका बेला अग्रमोर्चाको नेतृत्व सम्हालेका थिए । शान्ति प्रक्रियामार्फत पार्टी यहाँसम्म आइपुग्दा उनले दोस्रो दर्जाका आशालाग्दा नेताको छवि बनाइसकेका छन् । २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र १ बाट निर्वाचित बस्नेतले गृह र स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । 
जाजरकोटी राजपरिवारका सन्तान शाहको भने राजनीतिभन्दा समाजसेवीको परिचय फराकिलो छ । २० वर्षदेखि पुख्र्यौली थलो आएर विभिन्न सामाजिक काम गर्दै आएका उनी २०७० को संविधानसभामा निर्वाचनमा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । ०६६ मा महामारीकै रूपमा फैलिएको झाडापखाला र २०७२ को स्वाइनफ्लु प्रकोपका बेला उनले निजी खर्चमै रोग नियन्त्रणका लागि अभियानै सञ्चालन गरेका थिए । 
बस्नेतले प्रतिनिधिसभामा निर्वाचित भए भेरी करिडोर, नलगाड जलविद्युत् आयोजना, जडीबुटी उद्योगलगायत स्थापनामा जोड दिने बताए । ‘प्राविधिक तथा उत्पादनमूलक शिक्षाको विकासमा जोड दिइनेछ,’ उनले भने । कांग्रेस उम्मेदवार शाहले जिल्लाभर सडक सञ्जाल फैलाउने, युवा बेरोजगारी समस्या समाधान गर्ने, गरिबी घटाउने, जलविद्युत् उत्पादन, खनिज उद्योग र पर्यटन प्रवद्र्धनलगायतका काममा जोड दिने बताए । ‘जिल्लाको विकास, सम्पन्नता र रोजगारीलगायत काम नै मेरा मुख्य एजेण्डा हुन्,’ उनले भने ।
खड्काले एमालेलाई सघाउने 
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा उम्मेदवार बनाइएका रवीन्द्र खड्काले पार्टी परित्याग गरेर एमालेलाई सघाउने घोषणा गरेका छन् । राप्रपाको भ्रातृ संस्था राष्ट्रवादी कलाकर्मी मञ्चका अध्यक्ष कलाकार खड्काले मञ्च छाडेको घोषणा गर्दै एमालेलाई सघाउने बताए । उनीसँगै प्रतिनिधिसभा क्षेत्र नम्बर १ (ख) मा प्रत्यक्षतर्फ सिफारिस शंकरलाल श्रेष्ठले पनि पार्टी परित्याग गरेका छन् । 
प्रतिस्पर्धामा पुरानै अनुहार
पर्वतमा दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा संविधानसभा निर्वाचनकै सांसदबीच पुन: प्रतिस्पर्धा हुने चर्चा छ । वाम र प्रजातान्त्रिक गठबन्धनले उम्मेदवारको अन्तिम नामावली टुंगो गर्न कसरत गरिरहेका बेला निवर्तमान सांसदहरू क्षेत्र १ का अर्जुन जोशी र २ बाट विकास लम्सालले उम्मेदवारी पाउने पक्कापक्कीजस्तै छ । कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य जोशीको नाम टुंगो लगाएको छ । 
वाम गठबन्धनका लम्सालले पनि शुक्रबार आफ्नो नाम प्रतिनिधिसभा निर्वाचनका लागि टुंगो लागेको दाबी गरे । ‘प्रदेशसभामा २ मा माओवादी र १ मा एमालेलाई दिने कुरा छ,’ राजधानीमा रहेका उनले फोनमा भने, ‘प्रतिनिधिसभामा तयारी थाल्नुस् भनेर अध्यक्षले मलाई भन्नुभएको छ । चुनावी तयारीका लागि एक/दुई दिनमा जिल्ला आउँछु ।’ वाम गठबन्धनलाई पराजित गर्ने उद्घोष गर्दै आसन्न निर्वाचनका लागि कांग्रेसले शुक्रबारदेखि पर्वतमा प्रचार अभियान थालेको छ । अभियान शुभारम्भ कार्यक्रममा केन्द्रीय सदस्य रत्ना शेरचन, गरिबी निवारण तथा सहकारी राज्यमन्त्री चम्पा खड्कालगायतले एक भएर वाम गठबन्धनलाई जित्ने दाबी गरे । 
वाम गठबन्धनको कार्यालय
वाम गठबन्धनले बागलुङमा शुक्रबार प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । एमाले, माओवादी र राजमोको संयुक्त प्रचार कार्यालय स्थापनामा नेताहरूले आफ्नो विजय निश्चित भएको बताए । ‘विजय घोषणा गर्न मात्र बाँकी छ,’ प्रचार संयोजक मना केसीले भनिन्, ‘बागलुङलाई वाम किल्ला बनाएर छाड्नेछौं ।’ यसअघिका धेरै निर्वाचनमा पनि राजमो र एमालेको संयुक्त प्यानल निर्वाचनमा गएको थियो । २०७० को दोस्रो संविधानसभामा मात्र तीन वाम पार्टीले एकल उम्मेदवारी दिएका थिए । गठबन्धनले क्षेत्र १ मा एमालेका सूर्य पाठक र क्षेत्र २ मा माओवादीका देवेन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । 
उम्मेदवार नतोकिंदै भोट माग्न सुरु
दोस्रो चरणमा निर्वाचन हुने स्याङ्जामा दलहरूले उम्मेदवार नटुंगिँदै भोट माग्न सुरु गरेका छन् । जिल्लामा १९ वटा दल दर्ता छन् । पार्टीले छिट्टै उम्मेदवार तोक्ने बताउँदै नेताहरू गाउँ पुगेर भोट माग्ने गरेका हुन् । केही जिल्लास्तरीय नेताहरू टिकटका लागि केन्द्रमा नै छन् भने केही प्रचारप्रसारका लागि गाउँ पसेका छन् । सम्भावित उम्मेदवारको चर्चा र लबिङ भित्रभित्रै सुरु भइसकेको स्रोतले जनाएको छ । 
चुनावी प्रतिस्पर्धामा अधिकांश आकांक्षी पुरानै छन् । पुरुषको हकमा महिला पनि सँगसँगै प्रतिस्पर्धी बनेका छन् । विशेषगरी कांग्रेस, एमाले र माओवादी केन्द्र ग्रामीण भेगमा मात्र चुनावी प्रचारप्रसारमा व्यस्त छ । पार्टीले चुनाव प्रसारप्रसारका लागि गाउँमा कार्यकर्ता तथा स्वयंसेवकहरू परिचालन गरिसकेको छ । बजार क्षेत्रमा भने चुनावी गतिविधि देखिएको छैन । 
कांग्रेसका उम्मेदवार आकांक्षी भरत लम्सालका अनुसार पार्टीको बैठकबाट उम्मेदवार तोकिएपछि प्रचारप्रसार कार्यक्रम ढिला हुने भएकाले अहिल्यै कार्यकर्ता परिचालन गरिएको हो । 
एमालेका कार्यालय सचिव रामचन्द्र भट्टराईले पार्टीको कार्यक्रम लिई प्रचारप्रसारमा गाउँ पुगेको बताए । ‘केन्द्रीय निर्णयअनुसार पहिलेदेखि नै आन्तरिक तयारीमा लागेका हौं,’ उनले भने । माओवादी केन्द्र पनि चुनाव प्रचारप्रसारका लागि निर्वाचन क्षेत्र संयोजकको नेतृत्वमा गाउँ पसेको छ । केन्द्रका जिल्ला संयोजक शैलेन्द्र घिमिरेका अनुसार पार्टीका भ्रातृ संगठनहरू प्रचारका लागि परिचालन भइसकेका छन् । ‘अब छिट्टै पार्टीले उम्मेदवार तोक्छ,’ उनले भने, ‘वाम गठबन्धनले गर्दा समय लागेको हो ।’ 

Comments