स्तन क्यान्सरबारे पोखरामा पैदल यात्रा गरिने


पोखरा । पोखरामा आज स्तन क्यान्सर सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने भएको छ । नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेशनको आयोजनामा सचेतनामुलक २ किमि पैदल यात्रा कार्यक्रम आयोजना गरिएको हो । शनिबार बिहान पोखरा सभागृहबाट पैदल यात्रा शुरु भइ न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पुन सभागृहमा पुगे पछि जुम्बा डान्स सहितका सचेतनामुलक कार्यक्रम आयोजना हुने बताइएको छ ।
कार्यक्रममा स्तन क्यान्सर बारे सचेतना जगाउन पैदल यात्रा र जुम्बा डान्स गरिने भएको छ । स्तन क्यान्सरबाट बचौं र बचाउ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा पोखराका स्थानीय सामाजिक संघसंस्थाको पनि सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष डा. सुजिता हिराचनले जानकारी दिए ।
कार्यक्रमलाई पोखरा लेखनाथ महानगर पालिकाका प्रमूख मानबहादुर जिसी, लायन्स क्लब अफ डिष्ट्रिक ३२५ बिका गर्भनर धनराज आचार्य लगायतले सम्बोधन गर्नेछन् । स्तन क्यान्सरका बारेमा सर्वसाधरणमा जनचेतना जगाउने उद्देश्यले पैदल यात्रा र जुम्बाको आयोजना गरिएको हिराचनको भनाई छ । उनका अनुसार अक्टोबर महिनाभर सर्वसाधरणले स्तन क्यान्सरबारे धेरैभन्दा धेरै कुरा गरुन भन्ने लक्ष्य पनि राखिएको छ ।
नेपालमा चौथो पटक आयोजना हुन लागेको यो कार्यक्रम पोखरामा पहिलो पटक हुन लागेको हो । सर्वसाधरणमा स्तन क्यान्सर बारे पर्याप्त जानकारी नहुँदा अकालमा ज्यान गुमाउन परिरहेको अवस्था छ ।

Comments